
झापा- अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका–५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ।
मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल–५ का ४० वर्षीय सुमन चापागाईँलाई पनि पक्राउ गरेको छ।
बिहार मोतिहारी थाना केतवाड– ५ घर भइ कमल गाउँपालिकामा सिरक डसना बनाउने काम गर्दै आएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसी नागरिकता किर्ते गरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
सोही नागरिकताको प्रयोग गरेर कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. मा खाता खोलेको, उक्त नेपाली नागरिकता प्रयोग गरी कमल–५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजातसमेत बनाइसकेको डीएसपी चन्दको भनाइ छ।
मो.फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिइ घर कोठा तथा उनको शरीर रितपूर्वक खानतलासी गर्दा नागरिकताको विवरणसँग हुबहु (जस्ताको त्यस्तै) मिल्ने विवरण भएको नागरिकता फेला परेको उनले जनाए।
जेठ २२ गते उनीहरूलाई दमक ६ बेलडाँगी रोडबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।