
हामीलाई यो त थाहा छ कि हाम्रो शरीरमा रक्त चाप हुन्छ तर हामीमध्ये कतिलाई थाहा छ कि हाम्रो आँखाको पनि आफ्नै चाप हुन्छ, यसलाई चलनचल्तीको भाषामा ‘आई प्रेसर’ भनिन्छ।
आँखाको यो चापलाई कायम राख्ने काम आँखाभित्र पाइने एक पानीजस्तै देखिने तरल पदार्थले गर्छ जस्लाई एक्वेयस ह्युमर भनिन्छ। यो तरल पदार्थ आँखाभित्र २४सै घन्टा बन्छ र यस्ले आँखाको चापलाई कायम राख्ने मात्र होइन, यस्ले आँखालाई पोषण पनि दिन्छ। अनि यो तरल पदार्थ आँखाबाट २४ सै घन्टा बहिर्गमन हुन्छ पनि। यसरि आँखाको यो एक्वेयस ह्युमर बन्ने र बहिर्गमनको सन्तुलनले नै आई प्रेसर सन्तुलनमा राख्दछ। जसरी सामान्य रक्तचाप हुन्छ त्यसैगरी सामान्य आई प्रेसर पनि हुन्छ। सामान्य आई प्रेसर १० देखि २१ मिलिमिटरको बिचमा हुनुपर्दछ। यदि कुनै कारणले आई प्रेसर २१ भन्दा माथि भयो भने त्यस्लाई जलबिन्दु भएको मानिन्छ तथापि एक पटक कसैको आई प्रेसर २२-२३ देखियो भने त्यस्लाई जलबिन्दु नै हो भनेर उपचार चाहिँ सुरु गरि हाल्नु जरुरी छैन्, जरुरी के हुन्छ भने जल बिन्दु हो होइन त्यस्को निदान गर्न आँखाका अन्य परीक्षणहरु सकभर चाँडो गर्नुपर्छ। स्मरण रहोस् जलबिन्दुले अन्धोपन ल्याउन सक्छ तथा जल बिन्दुले गर्दा हुने अन्धोपनको कुनै उपचार हुन्न। जल बिन्दुको निदान समयमा भएन भने बढेको आई प्रेसरले बिस्तारै आँखाको नशा अप्टिक नर्भलाई बिगार्दै जान्छ र तब पनि निदान र समयमा उपचार भएन भने यसले स्थायी अन्धोपन ल्याउँछ। साथै यदि एउटा आँखामा मात्र पनि आई प्रेसर बढेको छ भने निदान दुबै आँखामा गर्नु पर्छ किनकि कहिलेकाहीँ जल बिन्दु दुबै आँखामा एकै साथ नदेखिन सक्छ तर जल बिन्दु दुबै आँखामा लाग्ने रोग हो। धेरै कम मान्छेमा मात्र जल बिन्दु एउटा आँखामा मात्र लाग्ने समस्या हो।
नेपालमा जल बिन्दुबाट हुने अन्धोपन दुई नम्बरमा आउँछ, नेपालमा अन्धोपनको प्रमुख कारण मोतीबिन्दु हो, तथापि मोतीबिन्दुबाट हुने अन्धोपनको उपचार शल्यक्रियाबाट सजिलैसँग नेपालको सातै प्रदेशमा सफलतापूर्वक हुन्छ। तर दुर्भाग्यबश जल बिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन।
अब यो कौतुहल स्वाभाविकै हो कि आखिर जलबिन्दु लाग्ने सम्भावना कसलाई छ त? जलबिन्दु भर्खर जन्मेको बच्चा देखि ज्येष्ठ नागरिक कसैलाई पनि हुन सक्छ। बच्चाहरुमा यो देखिने सम्भावना एकदमै न्यून छ तथापि ‘नाता पर्ने मान्छेको समागमबाट जन्मेका बच्चाहरु’लाई यो रोग धेरै बढ्ता भएको तथ्याङ्क संसारभर पाइएको छ।
यदि आफ्ना रगतका नातामा जल बिन्दु भएको छ भने आफूलाई जल बिन्दु हुने सम्भावना बढ्छ साथै मधुमेह भएका मान्छेमा, उच्च रक्तचाप भएका मान्छेमा, बिगतमा आँखामा चोट लागेका मान्छेमा, लामो समयसम्म बिना चिकित्सकको सल्लाह स्टेरोइडजन्य आँखाको औषधीको प्रयोग भएको छ भने जलबिन्दु हुने सम्भावना अरुभन्दा बढ्छ। त्यस्तै चश्मा लगाउने मान्छेमा खासगरी यदि उच्च माइनस या उच्च प्लस पावरको चश्मा लगाएको छ भने त्यस्ता ब्यक्तिमा पनि जलबिन्दु हुने सम्भावना ज्यादा हुन्छ।
युवावस्थामा यो रोग साधारणतया ३५-४० बर्षको आयुपछि मात्र हुन्छ अनि बढदो उमेरको साथै यो रोग लाग्ने सम्भावना पनि बढदै नै जान्छ।
अन्यमा, यदि आफ्ना रगतका नातामा जल बिन्दु भएको छ भने आफूलाई जल बिन्दु हुने सम्भावना बढ्छ साथै मधुमेह भएका मान्छेमा, उच्च रक्तचाप भएका मान्छेमा, बिगतमा आँखामा चोट लागेका मान्छेमा, लामो समयसम्म बिना चिकित्सकको सल्लाह स्टेरोइडजन्य आँखाको औषधीको प्रयोग भएको छ भने जलबिन्दु हुने सम्भावना अरुभन्दा बढ्छ। त्यस्तै चश्मा लगाउने मान्छेमा खासगरी यदि उच्च माइनस या उच्च प्लस पावरको चश्मा लगाएको छ भने त्यस्ता ब्यक्तिमा पनि जलबिन्दु हुने सम्भावना ज्यादा हुन्छ।
बिसाउनुअघि जल बिन्दुबारे प्रमुख सन्देश यी हुन्:
१) जल बिन्दु कुनै पनि उमेरमा हुन सक्ने समस्या हो।
२) जल बिन्दुले अन्धोपन ल्याउन सक्छ र यस्तो अन्धोपनको कुनै उपचार हुदैन।
३) समयमा निदान भएमा जल बिन्दुको सार्थक उपचार छ।
४) जल बिन्दुको उपचार गर्न सकिन्छ तर यस्लाई निको पार्न सकिन्न त्यसैले समयमा निदान अनि दीर्घकालीन उपचार नै एक मात्र उपाय हो।
५) ४० नाघेका मान्छेले समय समयमा नेत्र बिशेषज्ञसँग अनिवार्य रुपले आँखा जाँच गराऔं र अन्धोपनबाट सुरक्षित होऔं।
(एमबिबिएस, डिओएमएस, एमएस गरेका नेत्ररोग विशेषज्ञ डा. देउजाले जलविन्दुमा विशेष तालिम लिएका छन्।)