
वीरगन्ज- सहकारीको रकम लुट्न गोली प्रहार गर्ने बाबा ग्याङ नामक समूहका एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ग्याङका सदस्य भारत बिहार राज्य मोतीहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा नं. २ बस्ने २० बर्षका मोनुकुमार जैसवाल रहेका छन्।
पक्राउ परेका उनीसहित तीन जनाले गएको जेठ २२ गते मौलापुर नगरपालिका-६ पथरा बुधरामस्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने बौधिमाई नगरपालिका- ८ बस्ने अरबिन्दकुमार दासलाई पछाडिबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
दास नगद १७ लाख झोलामा राखी राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नको लागी जाँदै गर्दा पछाडीबाट गोली प्रहार भएको थियो।
घटनाको अनुसन्धानको क्रममा मुख्य योजनाकार रहेका जैसवाललाई गएको सोमबार मौलापुर नगरपालिका-७ बाट कटुवा पेस्तोल एक थान, दुई राउन्ड गोलीसहित पक्राउ गरीएको रौतहटकी प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
पक्राउ परेका जैसवालको बिहार मोतीहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आवद्ध रहेका व्यक्तिहरुसंग साँठगाठ रहेको, भारत र नेपालको सिमावर्ती इलाकामा लुटपाटमा संग्लन रहेको, अवैध भन्सार चोरी निकासीको काममा सक्रिय रहेको साथै वितेको तीन महिना अगाडी भारतीय एस.एस.बी.जवानलाई कुटपिट गरी आक्रमण गरेको घटनामा जेल चलान भइ हालसालै छुटेको अपराधिक पृष्ठभूमी भएको ब्यक्ति रहेको गिरीले बताइन्।
जैसवाललाई हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको उनले बताइन्।