
काठमाडौं – एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ। एनसेलले आफूलाई मन पर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने याेजना ल्याएकाे हाे।
चाहे त्यो जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस् वा सवारी साधनको नम्बर या अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सकिने एनसेलले जनाएकाे छ।
यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुन्छ। विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्।
ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।
हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो।
“मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने। “आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं। ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्। यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।”
यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध छन्। एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ। यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत रु ५९९ देखि रु १,४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ।
सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्। ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ।
बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन्। काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ। बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन्। एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्नेछन्।