
काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन्।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सरकारले पुरस्कारको घोषणा गरे पनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका हुन्।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे।
उनले एशियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए।
उनले भने, ‘अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिएअनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। आगामी वर्षदेखि पदक विजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ। ओलम्पिकमा सहभागी एशियन खेलमा पदक बिजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरु ३५७ जना मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको हो।’
मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा लाग्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए।