
काठमाडाैँ – कांग्रेस सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्।
आईतवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुरा कुनै पनि दिगो र सत्य नभएको दाबी गरे। उनले जिबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए। उनले जिबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए।
उनले भने, ‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनैपनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जिबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन । उनलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए।