सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्कासन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। माओवादीको चुनाव चिन्हबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद देवकोटालाई कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो। आबद्ध संसदीय दलको निर्देशनलाई उल्लंघन गरेको भन्दै माओवादीले गरेको कारबाही सिफारिसलाई जेठ ३२ गते प्रदेशसभामा सूचना सुनाएर पूर्णता दिइएको थियो।
000
प्रस्तावित राजदूत सुशील प्याकुरेल प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पछि हटेलगत्तै अर्का एक प्रस्तावित राजदूत छानबिनको घेरामा परेका छन्। कुनै कूटनीतिक अनुभव नभएका विजय पन्त माओवादीको कोटामा संयुक्त अधिराज्यका लागि राजदूत प्रस्तावित गरिएपछि उनको शैक्षिक योग्यता तथा आवासीय हैसियत छानबिनको घेरामा परेको जानकारी देशसञ्चारलाई प्राप्त भएको छ। उनकी श्रीमती बेलायतमै बसोबास गर्दै आएकी छन्।
000
तपस्वी भनेर कुनै बेला चर्चा पाएका रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै असार १७ गते सजाय निर्धाणका लागि पेशी तोकेको हो।
०००
चिनिया उपविदेशमन्त्री सुन वेइतोङ सोमबार नेपाल आएका छन्। उनि नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिन आएका हुन्। उपविदेशमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आजै भेट गरेका छन्। सिंहदरबारमा भएको भेटमा उनिहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।
000
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै गृहमन्त्रीले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए। यस्तै उनले निर्मला पन्तको हत्याबारेको अनुसन्धान पनि नतिजाउन्मुख रहेको दाबी गरेका छन्।
000
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए। सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
000
आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरुले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्। जेठ ११ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण धना तथा रिले अनसनमा बसेका सहकारी बचतकर्ताहरुले सोमबार पैदलयात्राका साथै मोटरसाइकल र्यालीसमेत निकालेका हुन्। उनीहरुले सहकारी ठगलाई सरकारले संरक्षण गरेको गुनासो गरेका छन्।
०००
मुलुकका स्थानीय तहहरुले आज संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन्। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोडको बजेट सार्वजनिक गर्दा ललितपुरले ७ अर्ब ४६ करोड ल्याएको छ। भरतपुर महानगरले ६ अर्ब ५५ करोड, र तुल्सिपुर उपमहानगरपालिकाले २ अर्ब ७ करोडको बजेट ल्याएका सम्बन्धित स्थानीय तहले बताएका छन्।
०००
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा सोमबार भएको विस्फोटनमा परी २२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने अधिकांश चिनियाँ नागरिक छन्। दक्षिण कोरियाको ह्वासेओङमा ब्याट्री निर्माता कम्पनी एरिसेलमा भएको दुर्घटनामा अधिकांश चिनियाँ नागरिको ज्यान गुमेको छ।
०००
र टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै समूह ‘२’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो। उक्त समूहबाट यसअघि नै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ।