
वीरगञ्ज- वीरगञ्ज कृषि औजारका प्राविधिकले दस किसिमका कृषि उपकरणहरू निर्माण गरेका छन्।
सरकारले बन्द गरेको कृषि औजार कारखाना महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले चलाउने जिम्मा लिएको लियो। केन्द्रले काराखना चलाउने जिम्मा लिएपछि दिनरात खटिरहेका प्राविधिकहरूले काराखनाबाट कृषि उपकरणहरू तयार गरेका छन्।
अहिले विभिन्न किकिसमको खेतीयोग्य कार्यमा प्रयोग गरिने दस प्रकारका कृषि उपकरणहरू तयार गरेर शो रुममा राखिएको छ ।
केन्द्रको जिम्मामा काराखना आएपछि त्यहाँ खटिरहेका इन्जिनियर तथा कर्मचारीहरूले अहिले बीऊ रोप्ने मेशिन, खाल्डो खन्ने मेशिन, गाईबस्तुको लागि खाने चारा काटने चाप कटर मेशिन, गाई बाख्रा भैंसीहरूलाई खुवाउन पेलेट दाना बनाउने, आलु रोप्ने आलु खन्ने मेशिन, धान काटने रिपर मेशिन, मर्जिङ मेशिन, केराको थम्बाबाट फाइबर निकाल्ने मेशिनलगायतका दस किसिमका मेशिनहरू बनाइसकेको आविष्कार केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले जानकारी दिए।
उक्त मेशिनहरू अहिले शो रुममा राखिएको तथा बिस्तारै मूल्य तोकेर त्यसलाई बजारमा पनि पठाइने उनले बताए। अहिले बनाइएका कृषि उपकरणहरू किसानले आफै चलाउन सक्ने खालको रहेको यदि कोही किसानले चलाउन नजानेका खण्डमा आफूहरूले सिकाउने इन्जिनियर देवको भनाई छ।
मूल्य निर्धारण गर्दा बाहिर तथा तेस्रो मुलकबाट ल्याइने कृषि उपकरणको तुलनामा आफूहरूले उत्पादन गरेको उपकरणको मूल्य कम नै पर्ने विश्वास उनले ब्यक्त गरे। वीरगञ्ज कृषि औजार कारखानामा उत्पादन गरिएको कृषि उपकरणहरू स्वदेशी भएकाले बिग्रेको खण्डमा सजिलै बनाउन कारखानामै ल्याउन सकिने प्राविधिक सहयोगसमेत सहज रुपमा पाउन सकिने भएकाले किसानहरूले प्राथमिकतामा केन्द्रका प्राविधिकले उत्पादन गरेको कृषि औजार पहिलो रोजाईमा पर्ने देवले बताए।
हाल कृषि औजार कारखानामा आविष्कार केन्द्रका तीन जना इन्जिनियरसहित २० जना कर्मचारीहरू कार्यरत छन्। यसअघि कृषि औजार कारखानामा काम गरिरहेका इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना-ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मत-सम्भार गरेर सञ्चालन गर्न सकिने जानकारी दिएको थियो। सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको थियो।
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले ०७९ साल माघदेखि कृषि औजार कारखानामा मेशिनहरू मरम्मत गर्ने तथा नयाँ मेशिनहरू बनाउने काम सुरु गरेको थियो। २८ फागुन २०२४ मा रुसको सहायतामा स्थापना भएको वीरगञ्ज कृषि औजार कारखाना तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए।
वीरगञ्ज महानगरपालिका- १४ मा रहेको कृषि औजार काराखानाले सुरुका वर्षमा मुनाफामा नै सञ्चालनमा थियो। कृषि क्षेत्रलाई आवश्यक पर्ने आधुनिक औजार साना उपकरणहरू पनि काराखनाले उत्पादन गरेर सस्तो र सहज तरिकाले देश भरिकै कृषकहरूसम्म पुयाउने गरेको थियो।
४ चैत २०५९ मा बसेको मन्त्रिपरिषद् बैठकले कारखाना खारेज गर्ने निर्णय गरेसँगै बन्द भएको कारखानाको भौतिक संरचनाहरू जीर्ण बन्दै गएका छन्।
थप तस्बिरहरू: