
वीरगञ्ज- बाराको सदरमुकाम कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा पक्राउ परेका सात जनामाथि मुदा दर्ता भएको छ।
बाराको आदर्श कोतवाल गाउँपालिका- २ निवासी कुशवाहाको बितेको असार ३२ गते साँझ सवा पाँच बजेको समयमा अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको थियो।
गोली लागि घाइते भएका उनलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकोमा कुशवाहाको मृत्यु भएको थियो।
उनको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको सात जनामाथि मंगलबार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको हो। पक्राउ परेर मुदा दर्ता हुनेहरुमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने अवधलालप्रसाद कुशवाहा, सोही स्थानका चांदसी प्रसाद कुशवाहा, राधेशकुमार पटेल र विनोद राउत कुर्मी रहेका छन्।
यस्तै कलैया उपमहानगरपालिका- १० मटिअर्वा टोल बस्ने आम्रपाली भन्ने ब्रहमदेव राम र करैयामाई गाउँपालिका- ७ पिपरा टोल बस्ने मोतिलाल चौधरीविरुद्ध पनि मुद्दा दर्ता भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।
उनीहरुको साथबाट बा ३२ प ७०५५,ना ५९ प ४७८९ र ना ३३ प ५४६२ नम्बरको तीन थान मोटरसाइकल,६ राउण्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु समेत बरामद गरिएको उनले बताए।
पक्राउ परेका सातै जनालाई कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरिएको तथा घटनामा संलग्न अन्य फरार रहेकाहरुको खोज तलास जारी रहेको न्यौपानेले बताए।