
गमगढी- कर्णाली प्रदेशका साविकका जिल्लाहरूका महिलाहरूमा आङ खस्ने समस्या बल्झिँदै गएकाे छ। दुर्गम जिल्लाका महिलामा कार्यबाेझ धेरै, बाल विवाह तथा सुत्केरी हुँदा पाेषिलाे खानेकुराको अभावका कारण आङ खस्ने समस्या बल्झिँदै गएको पाइएको हो।
महिलामा आफ्नाे समस्याबारे खासै खुल्न नसक्नाले दूरदराजका गाउँमा याे जटिल स्वास्थ्य समस्याकाे रूपमा रहेकाे छ।गाउँघरमा धेरैजसाे महिलामा आङ खस्ने समस्या भएपनि थाेरै महिलाले मात्र आफ्नाे समस्याकाे बारे खुल्ने गरेको पाइएको छ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा- १० झाकाेटकी महिला स्वास्थ्य स्वयंमसेविका नानी बुढाका अनुसार एउटै गाउँमा ८ देखि १० जना महिला आङ खस्ने राेगबाट पीडित छन्।
‘मैले स्वयमसेविका भइ काम गरेकाे १७ वर्ष भयाे। गाउँघरतिर धेरै महिलामा आङ खस्ने समस्या रहेकाे भए पनि महिला आफ्नाे समस्याबारे खुलेर भन्न सक्दैनन्। एउटै गाउँमा ८ देखि १० जनासम्म आङ खस्ने समस्याले महिलाहरू पीडित छन्।’
छायाँनाथ राराकै १० नम्बर वडा चराप गाउँ घर भएकी आङ खस्ने समस्याले पीडित २४ वर्षीया एक महिलाले आर्थिक अभावका कारण घरमै राेग पाल्नुकाे विकल्प नभएकाे बताइन्।
‘मेराे आङ खसेकाे ४ वर्ष भयाे। घरमा ३ बच्चा छन्। काम गर्दा सारै असजिलाे हुन्छ। मजस्ता गाउँमा अन्य महिलाहरूमा पनि यस्तै समस्याले पीडित छन्। आर्थिक अभावका कारण घरमै राेग पाल्नुकाे विकल्प छैन,’ उनले भनिन्।
मुगु जिल्लाका ४ वटै स्थानीय तहमा विगत ६ वर्षदेखि महिलाहरूकाे पाठेघरकाे चेकजाँच, परिवार नियाेजनसम्बन्धी काम, पाठेघरकाे मुखमा रिङ हाल्ने, ओैषधि वितरणकाे काम गर्दै आएकी सुनाैलाे परिवार नेपाल (मेरी स्टाेप्स नेपाल) मुगुकी जानकी शाहले आफ्नाे समस्याबारे खुलेका केही महिलालाई शिविरमा लगेर उपचार गराएकाे बताइन्।
आर्थिक अभावका कारण केही पीडित महिला सुविधासम्पन्न ठाउँमा गई उपचार गराउन नसक्ने स्थितिमा रहेकाले राेग झनै बल्झिँदै जाने गरेकाे शाहकाे भनाइ छ।
यस्ता आङ खस्ने महिलाकाे यकिन तथ्यांक कसैसँग नभए पनि गाउँबस्तीमा याे संख्या धेरै हुनसक्ने अनुमान गर्न सकिन्छ।