मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल

मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल
+
-

२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात् हराउनुभयो। लामो समय पत्तो भएन। खासमा उहाँ सिरहा जानुभएको रहेछ। एक दिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो, ‘नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको।’ त्यसपछि क्रमशः लेखहरू आउन थाले राजमोती र अभिमन्युको नाममा। त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत संघलाई नयाँ शिराबाट हेर्ने दृष्टिकोणबारे विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो। त्यतिखेर रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो।

त्यसैगरी, चीनको थ्यानआनमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीको धर्नाले तनाव थप्दै थियो। हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत चीनको तरंगले नछुने कुरै भएन। त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो।

यसरी पार्टीको आधिकारिक पत्रिका ‘दृष्टि’ पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो। र, दृष्टिभित्रकै यौटा टिम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो। त्यसमा पर्दा पछाडिबाट संलग्न हुनुहुँदोरहेछ, मदन भण्डारी। नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक, प्रकाशकको नाम राख्नैपथ्र्याे। त्यसैले नेकपा मालेको सर्ट फर्म ‘नेत्र कमल पाठक, मानेडाँडा लेकथुम’ भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो। फागुन ७ देखि त जनआन्दोलन शुरु भैहाल्यो। ०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना, कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट हुनुभयो। त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौं।

मोटोमोटो ज्यान, हँसिलो, मीठो बोल्ने, त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर अनुमान त लगायौँ तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन। पार्टी प्रवक्ताको रुपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरै भएन। कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! कति नै थिए र संकटको घडीमा काँध थाप्ने गरी प्रकट हुने बफादार, अनुशासित बुद्धिजीवी र कलमजीवी सिपाहीहरू ! एक नम्बर वरियताको नेता भैकन पनि सबैसँग बस्ने, खाने, मन माझ्ने, घमण्ड नगर्ने, ठूलो नपल्टिने, राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु ७०० रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको विषय थियो।

विद्यार्थी राजनीति गर्ने, त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो। सुनिरहुँजस्तो लाग्ने, संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा हामीलाई ऊर्जा दिइरहनुभयो। पछि पो चिन्यौँ, यतिञ्जेल हामीसँग रम्ने उहाँ पार्टीको महासचिव नै हुनुहुँदो रहेछ।

अब विदेशीहरूसँग भेटघाट बाक्लिन थाले। त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो। त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो। दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा लगाउने तर पार्टीको नेताहरूलाई भने संस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरू पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ। किनभने थाहा थियो, हामी जे गर्दै छौँ, पार्टीको लागि गर्दै छौँ र यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ। त्यसबाट गुनासो उठ्न स्वतः नपाउने नै भयो। शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इञ्जिन दह्रो भैदिँदा रेलका डब्बाहरू ऊर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहेजस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मीठो भोगाइ हो मेरो जीवनको।

मदन भण्डारीसँग लेखक।

एक दिनको सम्झना छ, मदनले भिजिटिङ कार्ड बनाउनुपर्‍यो भन्नुभएको। नक्सालमा डेरा थियो उहाँको। सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुने गर्छ भन्ने लागेको थियो होला उहाँलाई, त्यसैले भिजिटिङ कार्ड बनाइदिन आग्रह गर्नुभएको। तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो।

पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिन, न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ। तैपनि, सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु।

उहाँले आशालाग्दो, भर्खर उदाएको पत्रकार हो, यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँदिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो। पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले ( लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायत कार्यक्रममा सरिक गराउनुभयो। म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण, कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरूसँगको भेटघाटमा पनि सरिक भएँ।

झिल्लुप्रसाद तिवारी, केशवलाल श्रेष्ठ सँगै हुनुहुन्थ्यो। पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको, सँगै सादगी भोजन गरेको, हाइफाइवाला होटेल, वातानुकुलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसँग। त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षबीच कञ्चनपुर गएको, जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको, दाङ हुँदै फर्केको याद पनि ताजा छ। त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो। अशोक राई, सिपी मैनालीहरूको एउटा धार थियो। अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरूको बीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ। त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उत्साहसँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन, त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको क्षण झल्झली सम्झिरहन्छु।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो। मैले नै लिएको अन्तर्वार्ता हो त्यो। मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ, त्यसको अगाडि ‘जनताको’ शब्द थप्न लगाउनुभयो।

पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ। प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो तर आफ्नो एक भोट पनि नहालिकन राति नै निस्केर घर जानुभयो। सिपी मैनाली, मोहनचन्द्र अधिकारी, सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्वमहासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतिको टाउको’ भनिराख्नुहुन्थ्यो।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो। मैले नै लिएको अन्तर्वार्ता हो त्यो। मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ, त्यसको अगाडि ‘जनताको’ शब्द थप्न लगाउनुभयो।

मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको ‘कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न’ शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ।

पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि ‘प्रकाश साप्ताहिक’ महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो। र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका बीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है, यसो गर्दा सन्तुलन रहन्छ, पेशागत मर्यादा देखिन्छ, एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्दै निर्देशन दिनुभयो, जुन मैले कहिल्यै नबिर्सने प्रसंग हो। विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै, दृष्टि पढ्दै गरेको, खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको, जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला–बेला। संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो। त्यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, पछि राष्ट्रपति र महासचिव उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो। अमृत बोहरा, सानु मिश्र, हरि पाण्डे, माधवकुमार नेपाल, केपी ओली, मुकुन्द न्यौपाने, बाचस्पति देवकोटा, योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो। तर पछि के कारणले हो, म त्यसमा परिनँ। उताबाट खबर भने आइराख्थे फोनमा, हामी न्युज टिप्थ्यौँ, लेख्थ्यौँ र देशवासीलाई सुसूचित गर्थ्यौँ।

अहिलेजस्तो इमेल, फेसबुकको जमाना कहाँ थियो र जहाँ कहीँबाट फ्याट्ट सेण्ड या पोस्ट गर्नलाई ! उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो। जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो। उताबाट न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने, अनि मैले त्यसआधारमा न्युज बनाउने भन्ने सहमति भएको थियो। तर, अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र संगठन विभाग प्रमुख जीवराज आश्रितका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुंगाबाट अर्कै रुपमा, प्रधानसेनापति गडुल समशेरका मुखबाट सुन्नुपर्‍यो। त्यसपछिका प्रसंगहरू त सबैसामु छर्लंगै छन्।

उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ, न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ, खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो। ती आग्रहको लिखत मसँग सुरक्षित छ। उहाँले भनेका प्रायः सबै काम इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ। एउटै गुनासो छ, त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ। कारक र कारण जेसुकै होस्, यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ, दुःख छ। घरिघरि लाग्छ, त्यति सानो काम पनि किन गर्न सकिनँ हँ!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?