
काठमाडौँ – दक्षिण एशियाली राष्ट्रमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाले बताएका छन्। दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्। काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भुटानलगायत देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह गराउने चलन रहेको निष्कर्ष निकालेका छन्।
नेपालको मधेस प्रदेश र कर्णाली प्रदेशमा बालिका गर्ने प्रचलन अझै उस्तै अवस्थामा रहेको औंल्याएका छन्। बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलको एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कुरीति अझै हट्न नसकेको बताए। नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको बताए।
यसले बाल विवाह कमी आउन नसकेको बताए। सरकार तथा सामाजिक संघ संस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आएजस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताए।
बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएको कार्यक्रमको गतिलाई बढाउन आवश्यक रहेको बताए। बालिकामा शिक्षा र निर्णय क्षमता बलियो बनाउनसके बलपूर्वक गराइने विवाह रोक्न सकिने बताए।
दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज,वल्र्ड भिजन जस्ता संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन्।
यही ज्वाइनिङ फोर्सको काठमाडौंमा भएको बैठकले मुख्य गरेर बालिका विवाह र शिक्षामा काम गर्नेगरी कार्यक्रम चलाउने निर्णय गरेका छन्। यसै अवसरमा नेपालमा बालबालिकाको क्षेत्रमा ३० वर्ष यता भएका उल्लेख्य काम र विद्यमान कमजोरीको विषय समेटिएको एक प्रतिवेदन पनि सार्वजनिक गरेका छन्।
प्रतिवेदनमा बालबालिकामाथि अझै असुरक्षा रहेको, यौन हिंसामा पर्ने गरेको, बालबालिका कुलतमा फस्ने डर बढ्दै गएको, साइबर क्राइम र अन्य अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको अवस्था रहेको देखाएको छ।