काठमाडौँ – राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छन्।
आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा नीति निर्माणभन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन्।
अग्रजका सल्लाह सुझावबाट संसदलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो। उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ व्यवस्थित बनाई जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन्।
उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरिन्।
उनले भनिन्, ‘अग्रजहरुले विभिन्न समयमा भेटेर झक्झक्याउनु भएको छ। हामीलाई भेटेर गर्नुपर्ने सुझाव दिनुभएको छ। ती यहाँहरुका सुझाव भनेका हाम्रो निम्ति उर्जा हुन्। ती उर्जालाई लिएर हामीले संसदलाई प्रभावकारी बनाउनु पर्छ। जुन व्यवस्था हामीले ल्याएका छौँ, व्यवस्थित गर्न खोजिरहेका छौँ। कहिलेकहीँ व्यवस्थाप्रति पनि गम्भीर आरोप लाग्ने, जनताबाट पनि केही चिन्ताहरु व्यक्त हुने यो कुरा अघि नै पूर्वसभामुखज्युले भनेको जस्तै कहिले कहीँ यो अलि बढी सत्ताको खेलले गर्दा पनि त्यहाँ नगइकन आफ्ना, नीति, कार्यक्रमहरु लागू गर्न सकिँदैन भन्ने तहबाट मात्रै नभएर आफूलाई अलि बढी सत्ता लिप्साम अगाडि बढाउन खोज्दा पनि त्यस्तो निराशा आएको हो कि भन्नेकुरा जनतामा छन्।’

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































