
सिमकोट – २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हिमाली जिल्ला हुम्लाका दुई वटा विद्यालयको परीक्षाफल शून्य देखिएको छ। परीक्षामा ती विद्यालयबाट सहभागिता जनाएका परीक्षार्थी कोही पनि उत्तीर्ण हुन नसकेपछि परीक्षाफल शून्य देखिएको हो।
शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख योगेश आलेमगरका अनुसार यस पटकको एसईईमा जिल्लाका २७ वटा माविमध्ये दुई वटाको परीक्षाफल शून्य देखिएको छ। एसईई परीक्षाफल शून्य देखिएका विद्यालयमध्ये एउटा अदानचुली गाउँपालिका– ५ को सल्लाघारी मावि छ।
उक्त विद्यालयबाट चैतमा सञ्चालित एसईईमा ५१ जनाले सहभागिता जनाए पनि कोही उत्तीर्ण हुन सकेनन्। त्यसैगरी खार्पुनाथ गाउँपालिका– ४ को सीता माविले पनि एसईईमा शून्य परीक्षाफल ल्याएको छ। उक्त विद्यालयबाट परीक्षामा १९ जनाले सहभागिता जनाएका थिए।
उक्त विद्यालयले प्राबिधिक धारतर्फ भने ३१ जना परीक्षार्थीले सहभागिता जनाएकोमा १० जना परीक्षार्थी उत्तीर्ण भएर ३२ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुन सफल भएका छन्।