
काठमाडाैँ – पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको बताएका छन्।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरु देखा परिरहेको बताए।
उनले नेपालमा वैचारिक रिक्तता देखा परेको बताए। उनले विश्वभर नै बिरोधाभाष र अराजकता मौलाइरहेको बताए। उनले सांसदहरुले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताए।
उनले भने, ‘विश्वभरी बिरोधाभाष छ। संसारभर एउटा अराजकता छ। र अस्तव्यस्तताको स्थिति छ। विश्व दृष्टिकोण बनेको छैन। होला, दार्शनिकहरु विश्व दृष्टिकोणका लागि लागेका होलान्। तर त्यो आम बुद्धिजीवि र जनतासमक्ष आइपुगेको छैन। आम जनतासँग विश्वदृष्टिकोण नआइपुग्दासम्म हामी सबै एउटा ठूलो छटपटिमा छाँै। हामी सबै एउटा उकुसमुकुसको वातावरणमा छौँ। नेपालमा पनि हामी हेरिरहेका छौँ। नेपालमा मात्रै होइन, नेपालीहरुले मात्रै होइन, सारा संसारले हेर्ने संघीय संसदमा विचारमा, सिद्धान्तमा, नीतिमा छलफल भएको छैन। त्यहाँका छलफलहरु मेरो विवेकले देखेसम्म प्रतिक्रियात्मक भएका छन्। आज किन हामीले अराजकताका समस्याहरु व्यहोरिरहेका छौँ रु आज हामीलाई किन यि सबै समस्याहरु आइपरेका छन् भन्दा मुख्यकुरा विचारको रिक्तता जस्तो भइरहेको छ। लोकतान्त्रिक विचारको विकास नै मुख्य कुरा हो। लोकतन्त्र कुनै प्रवचनको विषय होइन। लोकतन्त्र जीवन, व्यवहार हो।’
पूर्वसभामुख सापकोटाले संसदमाको गरिमा बढाउन सबै सांसदहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताए।