
काठमाडाैँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन्।
आईतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दि गर्न नहुने बताए। उनले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गरे।
उनले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए। उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताए।
अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए। उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पु¥याउनु चुनौति रहेको बताए। गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताए। देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बताए।
उनले भने, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दि गर्नु हुँदैन। अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो। उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ। कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ। कृषि आधारित उद्योगहरुले निर्यातमूलक उद्योगको रुप लिनसक्छ। हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्यो, मसिनो खाने बानी परेकालाई खान दिउँ। तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ। गरिबीबाट माथि उठ्न परेको छ। मसिनो चामल मोटो चामल जति फल्दैन। त्यसलाई त्यत्तिकै फल्नेमा पु¥याउनु पर्छ। हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन। ठोस नीति निर्माण हुनुप¥यो नि। ठोस नीति आउनुपर्छ, के गर्ने ?’
अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए।