
काठमाडाैँ – पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन्।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे। उनले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताए।
उनले नेपाल चलाउनु मात्रै नेताहरुको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरु एवं आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै सम्भव रहेको बताए।
उनले भने, ‘प्रजातन्त्र अहिले पनि लंगडो अवस्थामै छ। तातेताते गरिदिने गम्भीर व्यक्तित्वहरु, नेताहरुको अभावले यो स्थिति आएको हो। हामीलाई औंला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ। किन आवश्यक छ भने मुलुक मुखियाले गाउँ चलाएको जस्तो होइन। नेपाल चलाउनु मात्रै नेताहरुको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन। संसारभर रहेका आफ्ना मित्रहरु, आफ्ना छिमेकीहरु, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरु र आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै हुन्छ। जनताले चुन्ने हो।’
पूर्वसभामुख रानाभाटले सांसदहरु संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताए।