
पोखरा – गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ। प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङले असार १ गते संसदमा प्रस्तुत गरेको आगमी वर्षको बजेट सोमबार बहुमतले पारित भएको हो।
नेपाली कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका एक र एक स्वतन्त्र सांसद गरी ३१ सांसदको समर्थनमा बजेट बहुमतले भएको छ। एमालेका २२ र माओवादीका ६ सांसद भने बजेटको विपक्षमा उभिएका हुन्।
गण्डकीले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबारको प्रदेश सभा बैठकमा अर्थमन्त्री गुरुङले बजेट पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले सभासमक्ष निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका हुन्।
गण्डकीको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख अर्थात ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख अर्थात् ५९.१९ प्रतिशत बजेट विनियोजन भएको छ। संघ सरकारबाट प्राप्त हुने वाहेक आन्तरिक आय तर्फ ५ अर्ब १७ करोड राजस्व उठाउने प्रदेश सरकारको लक्ष्य रहेको छ।
सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्ष दलका सांसदले भने चर्को असन्तुष्टि जनाएका छन्।
प्रतिपक्ष दलका सांसदले लक्ष्य र उदेश्यहीन भएर छरिएको बजेटले प्रतिफल दिन नसक्ने भन्दै आलोचना गरेका हुन्। सरकारले पूर्वाधारतर्पmका कार्यक्रमलाई बजेट विनियोजन गरेको छ।
यस्तै, सोमबारको बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जीवनासक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरेका छन्। आगमी बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ।