
वीरगञ्ज – झारफुक एवं धामी झाँक्रीको काम छ भनी बोलाएर दुई जनाको हत्या गरी नेपाल–भारत सीमाको दशगजामा गाड्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार बाराको कलैया उपमहानगरपालिका–५ बस्ने लक्ष्मणकुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने सन्तोषप्रसाद कुम्हार र सोही स्थानका महादेव महतो नुनिया छन्।
जेठ १९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ ओरिया खोलाको किनारमा नेपाल–भारत सिमानाको दशगजाभन्दा ८० मिटर नेपालको सरहदभित्र खाली जग्गामा गाडिएको अवस्थामा बाराको कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकबाल पण्डित कुम्हार र अर्को शव बाराकै आदर्श कोतवाल गाउँपालिका–७ घर भई कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारकोे शव भेटिएको थियो।
मृतक दुवै जना झारफुक, धामी झाँक्रीको काम गर्दै आएका थिए। दुवैजनाको पारिवारिक रिसइवी तथा जग्गा–जमिनको विवादलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनाका मुख्य योजनाकार प्रजापतिले मृतक दुबै जनालाई झारफुक एवं धामी झाँक्रीको काम रहेको भनी कलैयाबाट बस चढाई वीरगञ्जको प्रतिमा चोकमा ओर्लेका थिए। त्यहाँबाट पर्साकै बिन्दबासिनी चोकमा पुगेर पक्राउ परेका दुबै मृतकलाई मोटरसाइकलमा राखेर हुलाकी सडकबाट लखनपुर पुर् याई नहरको बाटो हुँदै घटनास्थल जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वास्थित ओरिया खोलामा लगेका थिए।
त्यहाँ प्रजापतिले आठ लाख रुपैयाँ लिएर हत्याको लागि सुपारी पाएका दुई जना आएर तीन जना मिलेर मृतककै साथमा रहेको गम्छाले घाँटी बाँधेर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
हत्यापश्चात् तीनै जना मिलेर शबवलाई ओरीया खोला तटमा गाडेका थिए। सोहीे हत्यामा संलग्न रहेका मुख्य योजनाकार दुई जनालाई वीरगञ्ज महानगरपालिका–१५ र एक जनालाई जगरनाथपुर गाउँपालिकाबाटै पक्राउ गरिएको डिएसपी भारतीले बताए।
‘मृतक दुवै जना धामी–झाँक्रीको काम गर्थे। उनीहरूकै कारण आफ्नो गाईभैंसी पनि मर्न थालेकाले अन्धविश्वासमा परी हत्या भएको हो,’ उनले भने, ‘हत्या गर्न सुपारीसमेत दिएर मान्छे लगाइएको कुरा पनि अनुसन्धानबाट खुल्न आएको छ।’
घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको तथा पक्राउ परेका तीनै जनालाई ज्यानसम्बन्धी कसुरमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।