
वीरगञ्ज – पर्साका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। पानी परेसँगै जिल्लाका किसानहरु धमाधम रोपाइँ गर्न व्यस्त भएका हुन्। तीन/चार दिनदेखि निरन्तर वर्षा भइरहेको छ।
अहिले बिहानदेखि बेलुकासम्म किसानलाई खेतमा देख्न सकिन्छ। गाउँभरिकै किसानहरु अहिले रोपाइँमा लागेका पटेर्वा सुगौलीका किसान जगतनारायण पन्जियारले बताए। पानी परिरहेको र ब्याडमा राखेको बिउ पनि तयार भएकोले रोपाइँ यहीबेला गरिहाल्ने हतारमा किसान देखिएका उनले बताए।
यसैबीच किसानहरुले खेतमा काम गर्ने मजदूर नपाउँदा भने समस्या हुने गरेको छ। गाउँघरका अधिकांश युवा रोजगारीका लागि विदेशीयपछि खेतमा काम गर्ने मजदुर पाउन समस्या भएको किसानहरु बताउँछन्।
पानी परेसँगै किसानहरु एकैपटक धान रोपाइँमा लागेकोले पनि काम गर्ने मान्छे पाउन समस्या भएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए।
उनले आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि यसपाली समयमै वर्षा रहेकोले पानीको जोहो गर्नको लागि बढी पैसा खर्च गर्नु नपरेको बताए। समयमै वर्षा भइरहे किसानहरुको धान खेतीमा कम लागत लाग्ने उनको भनाइ छ।
पर्सामा सोना मन्सुली, मनी मन्सुली, भदई मन्सुली, हर्दिनाथ–१ (१४४२), कतरनी, बासमती, हाइब्रिड जातको धान रोपिन्छ। जिल्ला कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार पर्सामा कुल ४७ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती हुने गरेको छ। धान खेतीको लागि देशैभरमा सबैभन्दा बढी धान खेती हुने गरेको मधेस प्रदेशमा हालसम्म २५ प्रतिशतभन्दा बढी धान रोपाइ सम्पन्न भएको छ।