
चितवनको भरतपुर– मिलनचोकमा रहेको चौधरी ग्रुपको आधिकारिक विक्रेताबाट खरिद गरेको विद्युतीय सवारी साधनमा बारम्बार समस्या आउँदा पनि बेवास्ता भएको भन्दै सवारी साधनका धनीले विरोध गरेका छन्।
किनेको केही समयदेखि नै चार्ज नहुने,बीचमा रोकिने सहितका समस्या देखिएको र समाधानका लागि बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर गाडीको टायर बालेर शाेरुमको अगाडि धर्ना बसेकाे सवारी धनी देवीप्रसाद सुवेदी जानकारी दिए।
‘किनेको महिना दिन नहुँदै गाडीमा समस्या आएपछि शोरुमले भनेकाे ठाउँमा काठमाडौंमा समेत लगेर बनाए पनि समस्या जस्ताको त्यस्तै छ’, सुवेदीले भने, ‘हामीलाई कि पैसा फिर्ता चाहियो कि गाडीको समस्या समाधान हुनुपर्यो।’
लामो समय वैदेशिक रोजगारका लागि कतार बसेर फर्किएका सुवेदीले ५४ लाख ५० हजार हालेर गाडी किनेको बताए। चौधरी ग्रुपको अधिकारी विक्रेता युरो मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष भट्टराईले ठूलै समस्या देखिएको बताए।
समाधान गर्ने कोसिस पनि गरेको तर फेरि समस्या देखिएको भन्दै सवारीधनी आएको उनले बताए। उनले समाधानको प्रयास गरिरहेको दाबी गरे। तर, सवारीधनी सुवेदीले भने शोरुम तथा चौधरी ग्रुपका केन्द्रीय अधिकारीले नै धम्कीपूर्ण भाषामा जवाफ दिएको बताए।
सिजी मोटर्स मार्केटिङ प्रमुख किरण आचार्यले समस्या समाधानका लागि प्रयास भइरहेको र धम्कीपूर्ण भाषामा बोल्ने व्यक्तिमाथि पनि छानबिन हुने बताए।
आफूहरुले विक्रेतासँग पनि समस्या समाधान तत्काल गर्न आग्रह गरेको आचार्यले जानकारी दिए।