काठमाडाैँ – ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बैंकले बुधबार निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको जानकारी दिएकाे हाे।
जसले गर्दा बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गर्ने बैंकले जनाएकाे छ।
नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो।
ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै अन्य सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको देखिएकाे छ। वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































