काठमाडौँ- पछिल्लो समय हाइकिङ जाने चलन बढ्दो छ। किशोरकिशोरी, युवायुवती र वयस्क तथा सबै उमेरका मानिस चाहे छोटो दूरीमा होस् वा लामो दूरीमा- बेलाबखत हाइकिङ जाने गरेका छन्। तर, पछिल्ला केही घटनाले हाइकिङ जान डरलाग्दो अवस्था सिर्जना गरिदिएको छ। हाइकिङ जाने सर्वसाधारण लगातार लुटपाटको सिकार बनिरहँदा लुटेराहरु पक्राउ गर्न असफल बनेको प्रहरीले उल्टै सानो समूहमा हाइकिङ नजान सुझाव दिएको छ।
गत असार १५ गते काठमाडौँको बल्खुदेखि १६ किलोमिटर टाढा दक्षिणकाली नगरपालिकामा रहेको चम्पादेवीमा १३ जनाको टोली हाइकिङ जानको लागि निस्किएको थियो।
बिहान ९ बजेतिर त्यो समूह दक्षिणकाली नगरपालिका वडा नम्बर ५ स्थित चम्पादेवी पुगेको थियो। त्यही बेला ४ जनाको अपरिचित समूह आएर तिनीहरूको साथबाट ११ वटा मोबाइल र केही पैसा लुटपाट गरी फरार भयो। जिल्ला प्रहरी परिसर काठमाडौँले लुटपाट गर्ने समूहलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार लुटपाट गर्ने समूह अहिलेसम्म फरार छ। उनीहरूको लोकेसन फरकफरक ठाउँमा देखिएकोले पक्राउ गर्न गाह्रो भएको अधिकारीले बताए। उनले भने, ‘एक ठाउँमा लोकेसन देखाउँछ त्यहाँ गयो, फेरि त्यहाँ पुग्दा अर्कै ठाउँमा लोकेसन देखाउँछ। त्यसो हुँदा धेरै अनुसन्धानको टोली लागि परेको छ। केही दिनमा नतिजा आउला।’
उनले अनुसन्धानमा प्रभाव पर्ने भएकाले आधिकारिक लोकेसन दिन मानेनन्।
यो त भयो एउटा घटना।
शनिबार बिहान काठमाडौँको बालाजु र टोखाबाट ६ जनाको टोली बुढानिलकण्ठबाट करिब १० किलोमिटर उत्तर रहेको शिवपुरी हाइकिङको लागि निस्किएको थियो। करिब १०:३० बजेको समयमा उनीहरूको टोली बुढानीलकण्ठ नगरपालिका-१ बागद्वार नजिकै पुगेको थियो। त्यही समयमा अपरिचित ४ जनाको समूह आएर उनीहरूको साथबाट मोबाइल र पैसा लुटपाट गरे।
परिसरका प्रवक्ता अधिकारीका अनुसार लुटपाट गर्ने समूहले पीडितहरूलाई खुकुरी देखाई डोरीले हात बाँधेर लुटपाट गरेका थिए। लुटेर गइसकेपछि पीडितहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटना भएको ठाउँमा १२ बजे पुगेको थियो। उनले भने, ‘हाम्रो टोली त्यहाँ पुग्दा हात बाँधेको डोरी त्यहिँ थियो, पीडितले भने अनुसार उनीरुले कालो मास्क लगाएका थिए।’
उनका अनुसार लुटपाट गर्ने समुह अहिलेसम्म फरार छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।
यता काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले भने यो वर्षाको समयमा हाइकिङ नजान आग्रह गरेका छन्। यदि जानुपरे अलि धेरै जनाको समुह बनाएर जानुपर्ने उनी बताउँछन्।
उनले भने, ‘त्यसरी जाँदा अलि धेरै ग्रुप बनाएर जानुपर्यो, अलि सुरक्षित पनि हुन्छ, कतिपय ठाउँमा फोन लाग्दैन, कतै अप्ठ्यारो छ, कतिपय ठाउँमा बाटो बिर्सिन्छ।’
हाइकिङ जाँदा अलि धेरै जनाको समूह बनाएर जानुपर्ने उनी बताउँछन्।

भर्खरै
लोकप्रिय






































































































































































































