
झापा- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्रका एक जना नेतालाई ‘सर्प्राइज गिफ्ट’ दिएका छन्।
वर्तमान राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएर दाहाललाई प्रधानमन्त्री ओलीले सर्प्राइज दिएका हुन्। ओलीको निर्वाचन क्षेत्र झापा ५ मा उनले चुनावी अभियानको कमाण्डर भएर काम गरेका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुन्।
विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मेका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा थिए।
दाहाल नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गरेका हुन्।
लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका मन्त्री दाहाल संगठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)को झापा जिल्ला कमिटीमा आबद्ध थिए।
दाहाल २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा रहे। विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका मन्त्री दाहालले विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाले।
दाहाल २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा आएका हुन्। २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२-६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि उनले सम्हालेका थिए।
विसं २०७२ मा नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दाहालले उनको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गरे। विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
मन्त्री बन्ने होडबाजीमा दाहालको नाम कतै उल्लेख थिएन। कसैले चर्चा गरेको थिएन। जब एमालेबाट मन्त्री बन्नेहरूको अन्तिम नामवली सार्वजनिक भयो, उनको नाम पनि समावेश थियो।