
झापा- ‘गिफ्ट अ भिजन’ अर्थात आँखाको ज्योति गुमाएकाहरूलाई ज्योति दिने उद्देश्यले शनिबार झापामा ५० किलोमिटर ‘कोरा राइड’ सम्पन्न गरिएको छ।
झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिएको हो।
सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि कोष संकलन गर्नेबारे केही दिन अघि छलफल भएको थियो।
यस कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारी गर्दै आएका विपन्न परिवारका व्यक्तिको बिर्तामोड आँखा अस्पतालको सहकार्यमा विशेष छुटमा मोतियाबिन्दुको शल्यक्रिया गरिने अस्पतालका सञ्चालक विनोद दाहालले जानकारी दिए।
कम्तीमा १० जना विपन्न मानिसको दृष्टि प्रदान गर्नका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि राइडरलाई अन्य सहयोगीले प्रतिकिलोमिटर १०० रुपैयाँ प्रदान गरेका छन्।
यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी दुई जना भन्दा बढी राइडर्सको सहभागिता थियो।
कोरा राइडमा सहभागी काँकरभिट्टा होटल व्यवसायी अर्जुन सुब्बाले भने, ‘साइकल सँस्कृति विकास र मानव स्वास्थ्यका लागि पनि कोरा राइड फाइदाजनक छ।’
कोरा राइडमा झापाका पाँच पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिएको छ। प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ।
बिर्तामोड आँखा अस्पतालबाट सुरु हुने राइड चारपाने–शनिश्चरे–जयपुर–बुधबारे–बुधबारे ७ नम्बर–नवज्योति वन–मागुरमाडी सिमसार–बाँसबारी समिसार–धुलाबारी–धाइजनढाट–पीपलडाँगी–सालबारी हुँदै बिर्तामोडमा आएर टुंगिने योजना बनाइएको छ।
तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो।