नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ।भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स एनडीआरएफ १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेका छन्।
ooo
नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८/८१ मा मात्र रु एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ। कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर रु २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख पुगेको हो।
ooo
नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकको जिम्मेवारी श्याम घिमिरेलाई दिएको छ। यसअघीका प्रमुख सचेत रमेस लेखक गृहमन्त्री बनेपछि उक्त स्थान खाली थियो। शनिबार घिमीरेलाई कांग्रेसले प्रमुख सचेतकको जिम्मेवारी दिएको हो। उनी सिन्धुली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ निर्वाचीत भएका प्रतिनिधि सभाका सांसद हुन।
ooo
गत असार १७ गते नेपाली कांग्रेस र एमालेले ७ बुँदे लिखित सहमति गरेर नयाँ सरकार बनेपनि सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन। शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउनेलगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गरेका हुन। यसैबिच कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन।
ooo
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौतालले आइतबारको संसदमा अनिवार्य उपस्थित भई ओलीलाई विश्वासको पक्षमा मत दिन सूचनामार्फत भनेका छन्। ओलीले आइतबार दिउँसो १ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने तय भएको छ। संसद बैठकअघि सत्ता घटक दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक आह्वान गरेको छ।
ooo
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नेकपा माओवादी केन्द्रलाई घुस खान सिकाएको टिप्पणी गरेका छन। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस–एमालेले घुस खान सिकेको र कांग्रेस र एमाले दुबै दल मिलेर माओवादीलाई घुस खान सिकाएको बताएका हुन।
ooo
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिरसमेत गरेका हुन। उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा उल्झन आउने गरेको बताएका थिए।
ooo
चितवनमा यात्रु बोकेको बस तेलको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन। शनिबार ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डअन्तर्गत भतेरी भन्ने स्थानमा नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्कर एकआपसमा ठोकिँदा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अरु १५ जना सामान्य घाइते छन्। घाइतेहरुको भरतपुरको नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
ooo
मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया र्पुयाएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन्। मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ। त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ।
ooo
नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताएकी छन। नेपाल र रसियाबीच आगामी आईतवार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ। नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताएकी हुन। नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो। नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ। नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन।