
झापा- अध्ययनका लागि बंगलादेश पढ्न गएका नेपाली विद्यार्थी त्यहाँको विद्यार्थी आन्दोलनका कारण धमाधम नेपाल फर्किन थालेका छन्।
चिकित्सा विज्ञान अध्ययनका लागि बंगलादेश गएका नेपाली विद्यार्थी स्थल तथा हवाइमार्ग हुँदै नेपाल आउँदै छन्। गत असार ३० गतेदेखि आइतबार (आज) साँझसम्म ८ सय २३ नेपाली विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका हुन्।
अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख मोहन पनेरुका अनुसार असार ३० देखि शनिबारसम्म ५ सय १८ र आज आइतबार ३ सय ५ नेपाली विद्यार्थी नेपाल फर्किएका हुन्।
विद्यार्थीलाई दिइने आरक्षण कोटाविरुद्ध विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिंसा भड्किएका कारण नेपाली विद्यार्थी त्यहाँ बस्न नसकेर नेपाल फर्किएका हुन्। त्यहाँ अहिलेसम्म १ सय ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनमा सयौं जना घाइते भएका छन्। बंगलादेश सरकारले देशभर कर्फ्यु लगाएको छ। सबै प्रकारका सञ्चार सेवा बन्द गरिएको छ।
अदालतद्वारा आरक्षण कोटा खारेज
बंगलादेशको सर्वोच्च अदालतले आइतबार विवादास्पद रोजगार कोटा योजना खारेज गरेको छ।
यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्री शेख हसिना वाजेदको सरकारले सन् २०१८ मै कोटा प्रणाली खारेज गरिदिएको थियो। तर तल्लो अदालतले गत महिना त्यसलाई पुनःस्थापित गरिदिएपछि मुलुकभर आन्दोलन चर्किएको थियो।
बंगलादेशको सर्वोच्च अदालतले उच्च अदालतको फैसला गैरकानुनी भएको बताएको छ।
सर्वोच्च अदालतले सन् १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रता संग्राममा लडेका स्वतन्त्रता सेनानीका छोराछोरीका लागि ५ प्रतिशत र साना जनजाति समूह र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि २ प्रतिशत कोटा कायम गरिदिएको छ।
उच्च अदालतले ३० प्रतिशत कायम गरेको आरक्षणलाई सर्वोच्च अदालतले ५ प्रतिशतमा झारिदिएपछि आन्दोलन मत्थर हुने अपेक्षा गरिएको छ।