काठमाडौँ- ‘कोल्गेट नेपाल स्पेल बी’को पाँचौ संस्करणको विजेता रिलायन्स इन्टरनेसनल एकेडेमी बनेको छ।
कार्यक्रममा देशभरबाट २ हजार ९ सय कलेजका झण्डै ९ लाख विद्यार्थी सहभागी थिए। यसमध्ये काठमाडौँको चावहिलमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका छिरिङ केसाङ शेर्पा विजेता बनेकी हुन्। त्यस्तै दाङको गोरखा इन्टरनेसनल माध्यमिक विद्यालयका उत्सभ घिमिरे फस्ट रनर अप बनेका छन् भने क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका रेसम घिमिरे सेकेन्ड रनर अप बनेका छन्।
अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम स्कुल र कलेजका विद्यार्थीहरूकाे शब्दभण्डार बढाउन गरिएको थियो।
विजेताले ३ लाख रुपैयाँ, फस्ट रनर अपले २ लाख रुपैयाँ तथा सेकेन्ड रनर अपले १ लाख रुपैयाँ र स्नातकसम्म स्कलरसिपमा उनीहरूले रोजेको विषय पढ्न पाउने छन्।
कार्यक्रम हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने गरेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेपालभरका विभिन्न ३५ शहरबाट अडिशनमार्फत छनौट गरिएको हो।
आयोजक महेश पोखरेलका अनुसार सरकारी र निजी विद्यालय दुवैबाट विद्यार्थीहरू कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।
नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। कार्यक्रम पत्रकार भुषण दाहालले चलाउँदै आएका छन्।
अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको हाे। यसको मिडिया पार्टनरका रुपमा देशसञ्चार डट कम रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































