काठमाडाैँ- प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरू सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसद्लाई विस्तृत जानकारी गराउनुपर्ने बताएका हुन्।
बंगलादेशमा नेपाली विद्यार्थीहरू धेरै अध्ययनका लागि गएकाले उनीहरूले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरूको पीडालाई सम्बोधन गर्नुपर्ने उनकाे भनाइ छ।
उनले भने, ‘केही दिन अगाडि बंगलादेशमा त्यहाँ आरक्षण सम्बन्धी विषयको विवाद अन्तरगत केही विरोधहरू भयो र त्यसले आक्रामक रुपमा आन्दोलनको रूप पनि लियो। लगभग १५० जना भन्दा धेरैको मृत्यु भयो। नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरू आपतकालीन अवस्थामा त्यहाँबाट फर्किए। धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन। तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो। त्यो जानकारी अहिलेससम्म भएको छैन। तसर्थ त्यो जानकारी उपलब्ध गराइदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’
बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ।

भर्खरै
लोकप्रिय






































































































































































































