बुटवल- लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनमा टिकट काट्दा टिकट दर आधा सस्तो हुने ‘मर्निङ अफर’ ल्याएको छ।
साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिएका छन्।
केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ। यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ। अपरेसन म्यानेजर कायस्थका अनुसार टिकट लिएकाहरूले १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँनेछन्।
सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ।
साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन्।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा आएकाे हाे।
केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर प्रज्वल घिमिरेले बताए।
टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































