
झापा- प्रभु बैंक लिमिटेडको विर्तामोड शाखा कार्यालयमा जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना गरेर उक्त बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला फरार भएपछि उक्त घटनाबारे अनुसन्धान गर्न र पीडितको पैसा फिर्ता गर्न बैंकको व्यवस्थापन पक्षले चार दिनको समय मागेको छ।
बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले उक्त घटनाको विस्तृत अनुसन्धान गर्न चार दिनको समय माग गरेका हुन्। उनले भने, ‘हामीलाई पनि घटनाबारे अनुसन्धान गर्न दिनु न। अनुसन्धान गरेर पीडितको रकम फिर्ता गर्न त समय चाहिन्छ नि।’
सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता तथा अग्रज पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको उक्त रकम हिनामिना गरेर बैंकका मार्केटिङ म्यानेजर सिटौला बुधबारदेखि फरार छन्।
बैंकले समय मागेपछि चार दिनको समय दिइएको पत्रकार नेपालका दाजु अधिवक्ता स्वागत नेपालले जानकारी दिए। चारदिनको समयमा पनि पीडितको रकम फिर्ता नभए बैंकमा तालाबन्दी गर्नेलगायत आन्दोलनका कार्यक्रम गर्ने उनले चेतावनी दिएका छन्।
मन्जु नेपालको मुद्दती खातामा राखेको नगद नै गायब पारीदिएपछि बैंकको उक्त शाखा कार्यालयमा स्थानीयबासीले बिहीबार घेराउ गरेका थिए।
छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दिएको थियो।