
काठमाडौँ- स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
कोषले शनिबार युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको समन्वयमा कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
विहान ९ बजेदेखि सुरु भएको उक्त स्वास्थ्य सिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिव ४५० जना विरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
१ दिन संचालन भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, अल्ट्रासाउन्ड परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगाएतको रोगहरुको निःशुल्क जाँच, परिक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए।
शिविरमा उपस्थित भएर नाम लेखाएका विरामीहरुलाई भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले छुट तथा सहुलियतमा उपचार समेत गर्ने गोयलले जानकारी दिए।