
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन्।
आइतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए। उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि बताए।
उनले पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए।
उनले भने, ‘पार्टीभित्रको शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ। गल्ती कमजोरीहरु सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्याउँछौँ। कांग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईंहरुको चाहनाअनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ।’