
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधानका उल्लेख भएको समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।
उनले राजनीतिक स्थायित्वको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे।
उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताए। मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरुको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए। उनले संविधानअनुरुप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘मिश्रित प्रणालीबाट चुनावमा जाँदाखेरी कुनैपनि दलको बहुमत आउँदैन। बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचित हिसाबले जाने तर समावेशी चरित्र जुन हाम्रो संविधानको छ, त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडि कसरी जान सकिन्छ त्यो अत्यन्त जरुरी छ भन्ने मलाई लाग्छ।’