
इरानको युवा टोलीले नेपाली महिला भलिबल टोलीलाई ३-२ को सनसनिपूर्ण सेटमा पराजित गरेको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्गत भएको लिगचरणको तेस्रो खेलमा नेपाल सनसनिपूर्ण रुपमा पराजित भएको हो। नेपालको यो जारी प्रतियोगितामा पहिलो हार हो।
खेलमा नेपाल विरुद्ध इरान सुरुवातबाटै निकै डटेर कोर्टमा उत्रिएको थियो। परिणामत उसले पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पार्यो। इरान विरुद्ध निकै खराब लयमा देखिएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै १६-२५ को अवस्थामा दोस्रो सेट टुंग्याउँदै खेल १-१ को बराबरीमा ल्यायो।
यद्यपि प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा नेपाल २५-२३ ले गुमाउन पुग्दा इरानले खेलमा २-१ को अग्रता बनायो। तर पुन चौंथो सेटमा पुनरागमन गरेको नेपाले १५-२५ कै अवस्थामा जित निकाल्दै खेल रोमाञ्चक रुपमा २-२ को अवस्थामा पुगेको थियो। १५ अङ्कको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल १५-१३ ले स्तब्ध बन्यो।
पराजित नेपाल तीन खेलबाट ६ अङ्कका साथ तेस्रो झरेको छ। यसअघि नेपालले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेको थियो भने भारतलाई ३-२ को रोमाञ्चक खेलमा हराउन सफल भएको थियो।
संभवत यो हारले नेपालको सेमिफाइनल भिडन्त इरानसँगनै हुन सक्ने सम्भावना बढेको छ। यद्यपि सेमिफाइनल समिकरण सोमबारको खेलले तय गर्ने छ। लिगचरणमा शीर्ष स्थानमा रहने टिमले लिगको चौंथो स्थानमा रहने टोलीसँग भिड्दा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले अर्को सेमिफाइनल खेल्ने छन्।
लगातार तीन जित निकालेको इरानले ४ खेलबाट ७ अङ्क जोडेको छ। पहिलो खेलमा भारतसँग ३-१ ले पराजित भएको इरान त्यसपछि श्रीलंकालाई ३-२ ले र माल्दिभ्सलाई ३-० ले हराउन सफल भयो। उसले लिगचरणको अन्तिम खेलमा नेपालाई ३-२ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो। अब नेपालले लिग चरणको अन्तिम खेलमा भोली प्रतियोगिताबाट बाहिरिसकेको माल्दिभ्स सँग प्रतिस्पर्धा गर्ने छ।