काठमाडौँ – रास्वपाकी काठमाडौँ–२ बाट निर्वाचित सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताउँदै सरकारसँग सुरक्षा माग गरेकी छन्।
आइतबार काठमाडौँ–२ का विभिन्न ठाउँमा भएका दैवीप्रकोपका घटनाबारे स्थलगत अवलोकनका लागि जाँदा मुलपानीमा सामूहिक रुपमा आफूमाथि अभद्र व्यवहार भएको गुनासो सोमबारको प्रतिनिधिसभा बैठकमा गरेकी हुन्।
उनले आफूमाथि गाँजा तथा माधक पदार्थ खाएर बसेका केटाहरुको समूहले दुर्व्यवहार गरेको दाबी गर्दै भनिन्, ‘साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ। त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो।’
उनले शिष्ट भाषामा आफ्ना कुरा भन्न आग्रह गरे पनि युवाहरुको समूहले आफूमाथि अश्लिल शब्द प्रयोग गरेको उल्लेख गरिन्।
सो घटनाले आफू निर्वाचन क्षेत्रमा जाँदा असुरक्षित भएको उल्लेख गर्दै त्यसतर्फ सरकारसँग ध्यान दिन आग्रह गरिन्।
‘राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति, युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन? यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भनिन्।