
वीरगञ्ज- ‘सादा पोसाकको प्रहरी हुँ’ भनी रकम असुली गरेको आरोपमा एक जना रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधवनारायण नग्नपालिका- १ बस्ने २४ वर्षका रमेश साह रहेका छन्।
पक्राउ परेका साहले ‘म नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ’ भन्दै सर्वसाधरणहरूसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासीसमेत गर्ने गरेको रौतहट प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर नगरपालिका- ९ डुमरिया चौकबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका साहको साथबाट झोलाभित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोशाकसमेत बरामद गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
साहलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताइन्।