
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ।
शुक्रबारबाट काठमाडौँको पेरिसडाँडामा सुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुने गरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको भन्दै आपत्ति जनाए।
भ्रष्टाचारविरोधी अभियानमा अवरोध आउने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकले हवाई र बस दुर्घटनामा परेकाहरुलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
दुवै दुर्घटनामा परी ठूलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिलले राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए। अध्यक्ष दाहालले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरुबीच सहमति भएर अघि बढ्ने कुरा सुखद् भएको पनि बताएको प्रवक्ता सापकोटाले जानकारी दिए।