
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पुर्याउने प्रस्ताव गरेका छन्।
आइतबार मन्त्रालयको प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत र कानुनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्ने गरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले बताए।
त्यसैगरी सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई बीमाको छाताभित्र राख्न आवश्यक प्रबन्ध गरिने पनि बताए।
उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म २८ प्रतिशत नेपाली नागरिकमात्रै आबद्ध भएको स्थिति छ। त्यसमा पनि नवीकरण घट्दो क्रममा छ। अहिलेको बीमा प्रणालीमा आमनागरिकको विश्वास घटिरहेको स्थिति छ। स्वास्थ्य बीमा ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य बीमामा आवश्यक सुधार र प्रक्रियालाई सहज बनाउँदै यसलाई सबै नागरिकको पहुँचमा पुर्याउने गरी हामीले बीमाको हालको दायरालाई बढाएर कम्तीमा ५ लाख बराबरको बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव रहेको छ।’
स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य ऐन तर्जुमा गर्ने पनि उनले बताए। मन्त्री पौडेलले संघअन्तर्गतको अस्पतालहरुको काम कारबाहीमा एकरुपता ल्याउन र व्यवस्थित गर्नका लागि सो कानुनी प्रबन्ध गर्न लागिएको बताए।
कार्ययोजनामा औषधि ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गरिने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन तर्जुमा गरिने कुरा समावेश गरिएको छ।
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रतिष्ठानहरुलाई एउटै नीतिले सञ्चालन गर्नका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन तर्जुमा गर्न लागिएको पनि स्पष्ट पारे।
मन्त्री पौडेलले स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गरिने बताए। त्यसका लागि सरकारले स्वास्थ्य सामग्री खरिदसम्बन्धी मापदण्ड नै तय गरेर अघि बढ्ने उनको योजना छ। कार्ययोजनामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भए तत्काल गैरजमानती गिरफ्तार गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने कुरा पनि समावेश गरिएको छ।
मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवा कार्यक्रमलाई व्यापक बनाउने, प्राथमिक स्वास्थ्य संस्थाहरुलाई स्रोत सम्पन्न बनाई स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पुर्याउने प्रतिबद्धता पनि गरे।