
वीरगञ्ज – माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ।
सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको हो।
तीनै जनामा खाना खाएपछि अचानक स्वास्थ्यमा समस्या आएको थियो। बान्ता र झाडापाखाला लागेपछि उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
किनेर ल्याइएको माछा पकाएर घरमै खाएपछि बालबालिकाको स्वास्थ्यमा समस्या आएको भनि बुझिएको उनले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए।