
काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्र सबै मिलेर जाने भएकाले नेतृत्व हस्तान्तरणबारे तनाव नभएको दाबी गरेका छन्।
स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आएपनि मिलेर जाने भएकाले तनाव नभएको बताएका हुन्।
नेतृत्व हस्तान्तरणबारे उनले भने,‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’ उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै दाहाललाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावमा केही नेताहरुले समर्थन जनाएका छन् ।
यसैबीच प्रचण्डको भनाइलाई समर्थन गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक सकारात्मक बन्दै गइरहेको दाबी गरेका छन्। उनले भने,‘अध्यक्षज्यूले भनि सक्नुभयो। बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ। उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ। मैले त समग्रमा भनेकै छु। तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ।’
उनले बैठकमा स्तरीय छलफल भएको जिकिर गर्दै कुनै समस्या नभएको बताए। माओवादीले तत्काल नेतृत्वमा ‘प्रचण्ड’ को विकल्प नभएको जनाएको छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए।
उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ। तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ।’ उनले बैठकमा बोलेका अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए ।
सापकोटाले भने,‘पार्टी कमिटीलाई सानो बनाउनुपर्छ, समाजवादीको अगुवाइ गर्नुपर्छ, हामीबाट नै समाजवादी प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, परिर्वतनको पक्षधर माओेवादी भएकाले एकताबद्ध भएर जानुपर्छ, आलोचना पनि सकारात्मक र रचनात्मक कोणबाट भएको छ।’