
काठमाडौँ – भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताए।
उनले विगतमा भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमबारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताए।
उनले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताए। उनले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी गरेको बताए।
उनले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात सुरु गर्ने जानकारी दिए। उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताए।
उनले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा निर्यात गरिने बताए। उनले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताए। दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा (नेपाली ८ रुपैयाँ ७२ पैसा) रहेको बताए।
उनले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताए। उनले यो वर्षमा भारतमा १ हजार मेगावाट विद्युत पठाउने योजनामा प्राधिकरण रहेको बताए। २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताअनुरुप भएको बताए।
भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो। पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत निर्यातको परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ। नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने रहेको छ।
सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत निर्यातको स्वीकृति पाइसकेको छ। नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ। त्रिदेशिय सम्झौताअनुरुप बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता अन्तिम चरणमा पगेको छ। बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ।