
काठमाडाैँ – भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्।
सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो।
मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस।जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन्। आज दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्। यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किनेछिन्।