
पोखरा – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ ऐनापहरास्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा घाइते १६ जनाको उपचार भइरहेको छ।
काठमाडौँको महाराजगञ्जस्थि त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जनाको अवस्था गम्भीर छ। ४९ वर्षीय रेखाप्रकाश सुखाडेको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए। ‘टाउकोमा चोट लागेकाले आइसियूमा राखेर उपचार भइरहेको छ’, उनले भने।
बाँकी १५ जनाको अवस्था सामान्य रहेको उनले बताए। उनीहरुलाई अस्पतालमा वार्डमा सारेर उपचार भइरहेको छ।
शुक्रबार भारतीय पर्यटक लिएर पोखराबाट काठमाडौँ पशुपति दर्शनका लागि जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। एक जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज र २६ जनालाई तनहुँकै आँबुखैरेनी अस्पतालमा मृत घोषणा गरिएको हो।
बसमा चालक र सहचालकसहित ४४ जना सवार रहेको थिए। २२ वर्षका गोकर्णी सन्दिप सरौदे वेपत्ता रहेको डिएसपी रायले बताए। उनको खोजी जारी छ। दुर्घटना परेर उनका आमाबुबा दुवैको मृत्यु भएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन दल कुरिनटारको टोलीले खोजी गरिरहेको उनको भनाइ छ।
नदीमा खसेको बस निकाल्ने प्रयाससमेत थालिएको छ। ‘हराइरहेका उनको शव बसमा च्यापिएको पनि हुन सक्छ’, डिएसपी रायको आंशका छ।
महाराष्ट्रको दलगाउँबाट दुई वटा बस लिएर भारतीय पर्यटक नेपाल घुम्न आएका थिए।