
काठमाडाैँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन्।
शनिबार काठमाडौँ-नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका हुन्।
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाइएको दाबी गरे।
यो सरकार दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरु, जाली, फटाहाहरूको प्रतिनिधिको रुपमा रहेको उनले आराेप लगाए।
उनले भने,’यो भ्रष्टाचारीहरुकै रक्षाको निम्ति बनाइएकै सरकार हो। भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारणले यो सरकार बन्यो।’
उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए। उनले भने,’जब केही फरार अभियुक्तहरु गिरफ्तार भए, उनीहरूमा खैलाबैला मच्चियो। अब हाम्रो पालो पनि आउनै लाग्यो भन्ने ठानेपछि मात्रै यो सरकार बनेको हुनाले यो भ्रष्ट, डर छेरुवाहरुकै सरकार हो।’
अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाईले केही नगर्ने बताए। जनताको आकांक्षा र जनभावना विपरीत गएमा दुई तिहाई बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाइ छ।
उनले आफूहरु जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे।
उनले भने, ‘जाली, फटाहाहरू, संविधान संशोधन गर्ने रे! पछाडि फर्काउने रे नेपाललाई, असम्भव। जबसम्म हामी यहाँ जीवित छौँ, दुनियाँको कुनै तागतले यसलाई परिवर्तन गर्न सक्दैन।’
उनले जनताको घर-आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए।