
काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बिहीबार पुन बस्ने गरी आज स्थगित गरिएको छ। एन्फा कार्यसमिति बैठकमा मंगलबार तिब्र बिबादबिच सुरु भएर महासचिवको तलब वृद्दि गर्दै १४ वटा एजेन्डा पारीत गरेको छ। अझै मुल एजेन्डा र थप गरिएकासहित १४ वटा एजेन्डा बाँकी रहेको छ।
मंगलबारको बैठक बिहान ८ बजेबाट सुरु हुने तय भएपनि २ घन्टा ढिला सुरु भएको थियो। दुई घन्टा ढिला सुरु भएको बैठकमा पनि एन्फाका उपाध्यक्ष दाबा लामाको उपस्थितिले एक समय भाँडीने अवस्थामा पुगेको थियो। बैठकको सुरुमै वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले उपाध्यक्ष दाबा लामा बैठकमा बस्न नमिल्ने र खेलकुद ऐनअनुसार उपाध्यक्षमाथि गम्भिर आरोपहरु लागेको र उनलाई बैठकबाट निकाल्न माग गरेका थिए ।
त्यसपछि सोहि विषयमा विवाद लम्बिंदा कुर्सी हानाहानको अवस्था समेत सिर्जना भएको थियो। अध्यक्ष पंकज विक्रम नेम्बाङ्गले उपाध्यक्ष बस्न नमिल्ने कहाँ लेखेको छ भनेर कुर्सी ठोकेपछि विवाद उग्र बनेको थियो। त्यसपछि कुर्सीफालाफाल भएको थियो भने ग्लास हरु फुटाइएका थिए।
विवाद उग्र बनेपछि अध्यक्ष नेम्बाङ्ले आत्मालोचना नगरि बैठक अघि बढ्न नदिने भएसँगै अध्यक्षले पटक-पटक आफूबाट अलिकति गल्ती भएको भन्दै संयमित बन्न आग्रह गरेपछि बैठक अघि बढेको उपाध्यक्ष विराटजंग शाहीले बताए। उनले भने ‘अध्यक्षलेनै बैठकलाई उत्तेजित पार्ने काम गर्नु भयो। उहाँले आत्मालोचना गरेपछि बैठकले निरन्तरता पायो।’
करिब दुई घन्टाको तिब्र बिबादपछि एजेन्डामा छलफल सुरु भएको थियो। इन्फाइस्ट्रक्चरका कुराहरु सहज रुपमा पारीत भए। त्यसपछि खेलाडीको तलब वृद्धिको एजेन्डामा प्रवेश गर्दा अध्यक्षले खेलाडीको तलब ५ हजार बढाउने प्रस्ताव गरेका थिए। साथै उनले महासचिवका लागि २ हजार डलर प्रस्ताव गरे।
उनको प्रस्ताव अनुसार खेलाडीले २३ हजार प्राप्त गर्ने सक्ने थिए। तर बरिष्ठ उपाध्यक्ष सहित २ जना उपाध्यक्ष र अन्य कार्यसमिति सदस्य गरी ९ जनाले खेलाडीको तलब ३५ हजार पुर्याउनु पर्ने र महासचिवको तलब यथावत राख्नु पर्ने बताएका थिए। असन्तुष्ट समूहले महासचिवको तलब वृद्धिले राम्रो सन्देश नजाने बताउँदा बताउँदै अध्यक्षले विश्व फुटबलमै सबैभन्दा कम तलब खाने महासचिव हाम्रो देशको रहेको र उहाँको मिहिनेतका लागि पनि पारिश्रमिक बढाउनु पर्ने जिकिर गरेका थिए।
उपाध्य शाहीले भने ‘हामीले महासचिवको तलब बढाउने प्रस्तावको घोर विरोध गर्यौं। हामीले बहुमत सिद्द गरेर अघि बढ्न चुनौती दिएका थियौं। तर उहाँले यो एजेन्डा पारित भयो भनेर अघि बढ्नु भयो। यसमा हामी नोट अफ डिसेन्ट लेख्छौं।’
त्यसपछि पनि बैठक निरन्तर अघि बढाउने र सबै एजेन्डा पास गर्ने गरी अघि बढेपछि पुन असन्तुष्ट पक्षधरले विरोध गर्दै बैठक छाडेर हिंड्ने धम्कि दिएका थिए। त्यसपछि अध्यक्षले बिहीबार बस्ने गरि बैठक स्थगित गरेका थिए। उपाध्यक्ष शाहीले भने ‘जबर्जस्ती आफ्ना एजेन्डाहरु पारित गर्ने काम भएको छ यसमा हामीले विरोध गर्ने छौं। आज राति सम्म पेलेर अघि बढ्ने कोसीस भयो। हाम्रो विरोधका कारण वैठक स्थगित भएको छ। बहुमत सिद्द गर्नु पर्ने चुनौती समेत पुरा नगरी बैठक जुन ढंगले अघि बढ्यो। यसको विरोध हामी निरन्तर गर्ने छौं।’