
काठमाडौँ- एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि प्रतिनिधिसभामा लफडा भएको छ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा विद्युत् बक्यौताको विषयलाई लिएर भट्टराई बोल्ने क्रममा माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादीका सांसद माधव सापकोटाले नियम आपत्ति गरे।
सापकोटाले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि दुई दलका सांसदले उठेर विरोध जनाए।
सभामुख देवराज घिमिरेले पटक पटक संसदीय मर्यादालाई ध्यानमा राखेर बोल्न आग्रह गरे पनि माओवादी र एमालेका सांसदहरुले होहल्ला गरे।
सापकोटाको भनाइको प्रतिवाद गर्दै भट्टराई भने, ‘माओवादीले नमाने पनि हिंसा हो, यो हाम्रो राजनीतिक धारणा हो। अर्कालाई बोल्न नदिनु पनि हिंसा नै हो।’ उनले माओवादी सांसदले बोल्न नदिएको भन्दै अगाडि भने, ‘तपाईंले धम्कीले कोही पनि डराउँदैन, हिंसा नै।’
त्यतिकैमा माओवादी सांसद देवेन्द्र पौडेल पनि नियम आपत्ति गरे। उनले भने, ‘नेपालको संविधानले हिंसा मान्दैन। यो शान्ति प्रक्रिया विपरीतको अभिव्यक्ति हो। सांसद योगेश भट्टराई बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ।’
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले फेरि नियम आपत्ति गर्दै ‘हिंसा’ शब्दलाई रेकर्डबाट हटाउन माग गरे। सभामुख घिमिरेले वाद विवाद नगर्न आग्रह गरे पनि दुई पक्षका सांसद थप आक्रोशित भए।
त्यतिकैमा आक्रोशित हुँदै भट्टराईले माओवादी आन्दोलनप्रति इङ्गित गर्दै भने, ‘मान्छे मार्नु, लुटपाट गर्नु, चन्दा आतङ्क मच्चाउनु, सेनालाई मार्नु, निहत्था जनतालाई मार्नु पनि सबै हिंसा हो।’
दुई दलका सांसद आमन्ने/सामन्ने भएपछि सभामुख घिमिरेले हिंसा शब्द असंसदीय हो वा होइन भन्ने निक्रयाेल गर्न सचिवालयलाई निर्देशन दिए।
त्यसपछि पनि माओवादी सांसदले होहल्ला जारी नै राखे। एमाले सांसद रघुजी पन्तले समय लिँदै हिंसा भन्ने शब्द ठीक भएको जिकिर गरे।
त्यति बेलासम्म सभामुख घिमिरेले अवस्थालाई एउटै विषयमा पटक पटक विवाद नगर्न रुलिङ गरे पनि माओवादी सांसदहरु रोकिएनन्।
फेरि माओवादी प्रमुख सचेतक सांसद पाण्डेले नियमावली अनुसार नियम आपत्ति गरेको जनाउँदै नियमअनुसार संसद चलाउन माग गरे।
त्यसपछि माओवादीका सांसद रणेन्द्र बराइलीलाई विशेष समयमा बोल्न दिएपछि सदनको अवस्था साम्य भयो। आफ्नै सांसदले बोल्न थालेपछी माओवादीका बाँकी सांसद चुप बसे।
याे पनि
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँः कांग्रेस सांसद केसी