
काठमाडौं- पेरिसमा बिहीबारबाट सुरु भएको पारा ओलम्पिक अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालका भरतसिंह महत पहिलो चरणमै पराजित भएका छन्। पेरिसस्थित ग्रान्ड पेलेसमा भरत पहिलो चरणमा जापानका मित्सुया तानाकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।
के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको तौल समूहमा जापानका खेलाडीसँग भरत १९-३ अंकले पराजित भए । भरत वाइल्ड कार्ड मार्फत छनोट भएका खेलाडी हुन्। के–४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेशा गोबर्धनले भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध भोली प्रतिस्पर्धा गर्ने छिन्।
पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् ।
छनोट चरण पार गर्दै पहिलो पारा ओलम्पियन हुन् । पलेशाले १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन। पेरिस पारा ओलम्पिकमा पलेशा र भरत सहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।