
काठमाडौँ – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्स र हिमालय महालक्ष्मी टि–गार्डेनबीच चिया र कृषि बाली उत्पादनको क्षेत्रमा अनुसन्धान र प्राविधिक ज्ञान प्रदान गर्न सहकार्य भएको छ।
विश्वविद्यालय र टि–गार्डनबीच कृषि क्षेत्रमा विश्वविद्यालय र कृषि उद्योगको संयुक्त सहकार्यबाट उत्कृष्ट मानव श्रोतको विकास गर्ने उद्देश्यले बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
उक्त समझदारी पत्रमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सका तर्फबाट डिन प्रा.डा. जनार्दन लामिछाने र हिमालय महालक्ष्मी टि गार्डेन प्रा.लिको तर्फबाट सञ्चालक, सुदर्शन चापागाईंले हस्ताक्षर गरेका हुन्।
नेपालका विश्वविद्यालयहरुमा चिया खेतीको बारेमा छुट्टै कोर्षको रुपमा पढाइ नभइरहेकोले सो क्षेत्रमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको वर्तमान अवस्थामा विश्वविद्यालय र टि गार्डेनको यो प्रयासले नयाँ अभ्यासको सुरुवात गर्ने विश्वास लिइएको छ।
नेपालमा चिया खेतीको उत्पादन तथा प्रारम्भिक चरण हिमालय महालक्ष्मी टि गार्डन प्रालिले गर्दै आइरहेको थियो।
अब उद्योग र विश्वविद्यालयको सहकार्यले सैद्धान्तिक र प्रयोगात्मक शिक्षाबाट उत्कृष्ट स्तरको शिक्षा प्राप्त गर्न सकिने छ। त्यसैअनुसार विश्वविद्यालयको कृषि विभागमा अध्ययनरत विद्यार्थीहरुलाई टिगार्डेनमा प्रयोगात्मक र अनुसन्धानात्मक ज्ञान प्रदान गर्न पठाइने सहमति भएको छ ।
काठमाडौँ विश्वविद्यालयले हिमालय महालक्ष्मी टि गार्डेनका कर्मचारीहरुलाई कृषि प्राविधिक तालिम प्रदान गर्दै चियालगायत अन्य व्यावसायिक खेतीसम्बन्धी ज्ञान, सीप र क्षमता बढाउने कार्यमा सहयोग गर्नेछ।
विश्वविद्यालयले टि गार्डेनमा एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गरी चिया तथा ब्यावसायिक खेतीलगायतका विद्यार्थि तथा अनुसन्धानकर्ताहरुबाट अनुसन्धान गराउने र उनीहरुलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने कार्य गराउनेछ। जसबाट चिया वगानहरु समेत लाभान्वित हुनेछन्।