
काठमाडौं- २०८० सालकाे जगदम्बा-श्री अर्पण पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान: नेपाल-अंग्रेज युद्धको बखान’ लाई दिइने भएकाे छ।
मदन पुरस्कार गुठीको साधारण सभाले यस्ताे निर्णय गरेकाे हाे।
मदन पुरस्कारका निम्ति गुठीमा प्राप्त ३०४ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन-तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८०’ का निम्ति छनौट भएका थिए।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट विस. २०१३ मा गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको थियाे। यो सम्मान पहिलोपटक श्री नारायण गोपाललाई अर्पण गरिएको थियो।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री अर्पण गरिने गुठीले जनाएकाे छ।